दुई वर्षभित्र धरहराको पुनःनिर्माण : प्रधानमन्त्री

काठमाडौं, पुस ७ । प्रधानमन्त्री केपी शर्मा ओलीले अबको दुई वर्षभित्र धरहराको पुनःनिर्माण गरिसक्ने दाबी गरेका छन् ।

१५औं राष्ट्रिय ज्यापू दिवसका अवसरमा शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले भूकम्पबाट ध्वस्त भएका विभिन्न सम्पदाहरुको पनि चाँडै नै निर्माण सक्ने बताए ।

प्रधानमन्त्री ओलीले इतिहासमा रानीपोखरीको यति धेरै बेहाल नभएको भन्दै चाँडै नै रानीपोखरीको पनि पुनःनिर्माण सक्ने उल्लेख गरे ।

सरकारले समाजका सबै वर्ग, क्षेत्र, जाति, लिंग, समुदायको भावनालाई उच्च सम्मान गर्ने भन्दै उनले अबको १५ दिनभित्र ज्यापू विकास कोषलाई १५ लाख रुपैयाँ प्रदान गर्ने बताए ।

नेपालको पहिचान र संस्कृतिको जर्गेना गर्न ज्यापू तथा नेवार समुदायको महत्वपूर्ण भूमिका रहेको पनि उनले बताए ।

कार्यक्रममा ज्यापू संस्कृति विकास कोषले विभिन्न क्षेत्रमा योगदान पुर्‍याउने व्यक्तिहरुलाई सम्मान गरेको थियो ।

दिवसका अवसरमा काठमाडौंको वसन्तपुरबाट निकालिएको र्‍याली मरुगणेशस्थान, प्याफल, यट्खा, क्षेत्रपाटी, ज्याठा, खिचापोखरी, ओमबहाल, मरुटोल हुँदै पुनः वसन्तपुरमा पुगेर समापन भएको थियो ।

नेवारी संस्कृति झल्कने विभिन्न बाजागाजासहित आफ्नै भेषभूषामा निकालिएको र्‍यालीमा सयौं व्यक्तिको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस्