घोषणापत्र जारी गर्दै कांग्रेस महासमितिको बैठक आज सकिने

काठमाडौं, पुस ८ । नेपाली कांग्रेस महासमितिको बैठक आज सकिने भएको छ । १० दिनदेखि काठमाडौंमा भइरहेको महासमितिको बैठकको अन्तिम दिन आज घोषणापत्र जारी गर्दै समापन गर्न लागिएको हो ।

घोषणापत्र तयार गर्ने क्रम जारी रहेको छ । महासमिति बैठकमा पेश भएका ५ वटा प्रतिवेदन दिउँसो पारित गरी अपराह्न घोषणापत्र जारी गरिने कांग्रेसले जनाएको छ ।

पार्टी कार्यालय सानेपामा जारी महासमिति बैठकमा अहिले विधान संशोधन मस्यौदामाथि छलफल भइरहेको छ ।

विधानको मस्यौदाका विषयमा शीर्ष नेताहरुबीच सहमति गरेर महासमिति बैठकमा छलफलका हिजो पेश गरिएको थियो ।

विधानको मस्यौदाका विषयमा भने सदस्यहरुले संशोधनको सुझाव दिएका छन् ।

समानुपातिमा एक पटकभन्दा बढी अवसर नदिन र सबै महाधिवेशन प्रतिनिधि निर्वाचित भएर आउने व्यवस्था गर्न माग गर्दै कांग्रेस विधान संशोधन मस्यौदा माथि पनि संशोधन दर्ता भएको छ ।

जिल्ला सभापतिहरु र केही महासमिति सदस्यहरुले प्रस्तावित विधानमा केन्द्रीय सदस्य स्वतः प्रतिनिधि बन्ने व्यवस्था रहेकाले त्यसलाई हटाएर बुथदेखि नै सबै प्रतिनिधि निर्वाचित हुनुपर्ने व्यवस्था गर्न संशोधन परेको हो ।

समानुपातिकबाट पटक–पटक एउटै व्यक्तिलाई अवसर दिइएको भन्दै महासमिति सदस्यहरुले त्यसलाई पनि हटाउन माग गरेका हुन् ।

तर नेतृत्व भने केन्द्रीय समितिबाट सर्वसम्मत रुपमा पारित भएको विधान मस्यौदाको प्रस्तावलाई जस्ताको तस्तै पारित गर्ने मुडमा छ ।

प्रतिक्रिया दिनुहोस्