इन्डोनेसियामा ज्वालामुखी विस्फोटपछि सुनामी, कम्तिमा ४३ जनाको मृत्यु

काठमाडौं, पुस ८ । इन्डोनेसियाको सुन्डा स्ट्रेटमा ज्वालामुखी तथा सुनामीका कारण कम्तिमा ४३ जनाको मृत्यु भएको छ। सरकारी अधिकारीहरुका अनुसार हालसम्म ५ सय ८४ जना घाइते भएका छन्।

इन्डोनेसियाको विपद् व्यवस्थापन केन्द्रका अनुसार २ जना हराइरहेको र सयौं घर तथा भौतिक संरचनामा क्षति पुगेको छ। अनक क्राकाटोवा ज्वालामुखी विस्फोटसँगै सुनामी आएको हो। ज्वालामुखी विस्फोटपछि गएको पहिरो तथा कम्पनका कारण हिन्द महासागर तथा जाभा समुद्रमा पानीकाे सतह धेरै माथसम्म पुग्ने अनुमानसमेत गरिएको छ।

ज्वालामुखी प्रभावित क्षेत्र सुन्डा स्ट्रेट इन्डोनेसियाको जाभा र सुमात्रा टापुलाई जोड्ने सानो टापु हो। जसले जाभा समूद्र र हिन्द महासागरलाई पनि जोडेको छ।

पान्डेगल्यांग, दक्षिण लामपुंग र सेरंग क्षेत्रमा बढी मानवीय क्षति भएको जनाइएको छ। विपद् व्यवस्थापन केन्द्रले घटनामा हताहती हुनेको संख्या बढ्नसक्ने जनाएको छ। पूर्ण चन्द्रका कारण पनि समुद्रको पानीमा बढी लहर आउने हुँदा क्षति बढ्नसक्ने अनुमान गरिएको छ।

सुनामीबाट क्षति पुग्नसक्ने स्थानका मानिसहरुलाई अहिले सुरक्षित स्थानतर्फ सार्ने काम भइरहेको छ। घटनामा उद्धारका लागि राष्ट्रिय फौज तथा उद्धारकर्मीहरुलाई परिचालन गरिएको छ।

इन्डोनेसियाली भूगर्भ विभागका अनुसार केही महिनादेखि नै अनक क्राकाटोवा ज्वालामुखी सक्रिय छ। गएको शुक्रबार २ मिनेट १२ सेकेन्डसम्म ज्वालामुखी विस्फोट भएको विभागले जनाएको छ। सो क्रममा आकासको करिब ४ सय मिटर माथिसम्म धुँवा फैलिएको थियो। विभागले ज्वालामुखीको क्रेटर वरपरको २ किलोमिटर क्षेत्रभित्र नजान सूचित पनि गरेको छ।

यसअघि गएको सेप्टेम्बरमा मध्य इन्डोनेसियाली टापु सुलावेसीलाई केन्द्र बनाएर गएको शक्तिशाली भूकम्पका कारण सुनामी आउँदा २ हजार भन्दा बढीको मृत्यु भएको थियो।

यस्तै सन् २००४ डिसेम्बर २६ मा हिन्द महासागर केन्द्र भई ९ दशमलब ३ म्याग्निच्युडको शक्तिशाली भूकम्प भएको थियो। भूकमपपछि आएको सुनामीका कारण इन्डोनेसियाकाे सुमात्रा तथा अन्य १४ राष्ट्रमा यसले क्षति पुर्‍याएको थियो। घटनामा २ लाख २८ हजार मानिसको मृत्यु भएको थियो।

प्रतिक्रिया दिनुहोस्