स्पेनिस ला लिगा : बार्सिलोनाको अग्रता जारी

काठमाडौं, पुस ८ । स्पेनिस ला लिगामा बार्सिलोनाले आफ्नो अग्रता जारी राखेको छ । लिग अन्तर्गत शनिबार राति भएको खेलमा शीर्ष टोली बार्सिलोनाले सेल्टाभिगोलाई २–० गोलले हरायो ।

जितसँगै बार्सिलोनाले दोस्रो स्थानको एट्लेटिको म्याड्रिडसँग तीन अंकको स्पस्ट अग्रता बनाएको छ । अर्को खेलमा एट्लेटिको म्याड्रिडले पनि इस्पान्योललाई १–० गोलले हरायो ।

यस जितसँगै बार्सिलोनाले १७ खेलबाट ३७ अंक बनाएको छ । दोस्रो स्थानमा रहेको एट्लेटिकोले समान खेलबाट ३४ अंक जोडेको छ । बार्सिलोनासँग हारेको सेल्टाभिगो २१ अंक सहित १०औं स्थानमा छ । २१ नै अंक बनाएको इस्पान्योल १३औं स्थानमा छ ।

घरेलु मैदानमा बार्सिलोनालाई जिताउन औसमाने डिम्बालेले १०औं मिनेटमा खाता खोलेका थिए । कप्तान लियोनल मेस्सीले ४५औं मिनेटमा गोल गर्दे बार्सिलोनाको जित सहज बनाए ।

यसैगरी एट्लेटिकोको घरेलु मैदानमा भएको खेलमा एन्टोइन ग्रिमम्यानले पेनाल्टी मार्फत ५६औं मिनेटमा गोल गर्दै टोलीको जित सुनिश्चित पारेका थिए । अन्य खेलमा रियल बेटिस र इबर तथा एट्लेटिक बिल्बाओ र रियल भालाडोलिडले समान १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।

  • एजेन्सी
प्रतिक्रिया दिनुहोस्