फिफा क्लब विश्वकपमा रियल म्याड्रिडको ‘ह्याट्रिक’

काठमाडौं, पुस ८ । फिफा क्लब विश्वकप फुटबलको उपाधि रियल म्याड्रिडले जितेको छ । संयुक्त अरव इमिरेट्स (युएई) मा शनिबार भएको फाइनल खेलमा रियलले युएईको क्लब अल इनलाई ४–१ गोलले हराउँदै च्याम्पियन बनेको हो ।

लगातार तेस्रो पटक उपाधि जितेको रियलले फिफा क्लब विश्वकप उपाधिमा ह्याट्रि«क नै गरेको छ । एकपक्षीय खेलमा रियलका लागि १४औं मिनेटमा लुका मोड्रिचले गोल गर्दै सुरुवाती अग्रता दिलाए । ६०औं मिनेटमा मार्कोस लोरेन्टेले रियलको अग्रता दोब्बर पारे । सर्जियो रामोसले ७९औं मिनेटमा तेस्रो गोल थपे ।

त्यसपछि ८६औं मिनेटमा अल इनका टिसुकासा सिओतानीले एक गोल फर्काएका थिए । दोस्रो हाफको इन्जुरी समयमा याहा नादेरको प्रहार आत्मघाती गोल भएपछि रियलले फराकिलो जित हात पारेको थियो ।
रियलको यो समग्रमा चौथो क्लब विश्वकप उपाधि पनि हो ।

यस जितसँगै रियलले प्रतियोगितामा सर्वाधिक जितको कीर्तिमान पनि रचेको छ । प्रतियोगिताको उत्कृष्ट र सर्वाधिक गोल गर्ने खेलाडीको उपाधि रियलका ग्यारेथ बेलले जिते ।

उनले दुई खेलमा तीन गोल गरेका थिए । सिल्भर बल अल इनका कैओले पाए । ब्रोन्ज बल रिभर प्लेटका सान्टोस बोरेले हात पारे । रियलले फेयर प्ले अवार्ड पनि जित्यो ।

  •  एजेन्सी
प्रतिक्रिया दिनुहोस्