दुर्घटनाः रित्तियो शिक्षालय, शोकमा दाङका बजार

दाङ,पुस ९ । तुलसीपुर–३ मा शुक्रबार साँझ भएको बस दुर्घटनामा ज्यान गुमाउने २३ जनाकै सनाखत भएको छ । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार दाङका ६ जना, जुम्लाका ११ जना, जाजरकोट, बाजुरा, बझाङ, कञ्चनपुर, डोल्पा र रुकुमपूर्वका एक(एकजनाले दुर्घटनामा ज्यान गुमाएका छन् ।

रित्तियो शिक्षालय

दुर्घटनामा परेका विद्यार्थीले अध्ययन गर्ने घोराही १७ स्थित सहिद कृष्णसेन इच्छुक स्मृति बहुप्राविधिक शिक्षालय सुनसान भएको छ । जिल्लामै पहिलोपटक वनविज्ञान अध्यापनका लागि शिक्षालयले अनुमति पाएको थियो । करिब एक महिनाअघिबाट मात्र शिक्षालयमा पढाइ सुरु भएको थियो ।

४० जना विद्यार्थी अध्ययनरत शिक्षालयबाट शुक्रबार ‘बोटनी’ र ‘जुलोजी’तर्फका ३२ जना विद्यार्थी र दुईजना शिक्षक अध्ययन भ्रमणका लागि सल्यानको कपुरकोट पुगेका थिए । शिक्षालयका १९ जना विद्यार्थी र दुईजना शिक्षकको दुर्घटनामा मृत्यु भएको शिक्षालयका प्रिन्सिपल यादव सुवेदीले बताए ।

प्रतिक्रिया दिनुहोस्