निर्मला हत्या प्रकरणकाे अनुसन्धानमा कमजाेरी भएकाे आईजीपी खनालद्रारा स्वीकार

 

काठमाडौँ, पुस १० । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले निर्मला पन्त प्रकरणमा प्रहरीले इमान्दार प्रयास गरिरहेको स्पष्ट पारे ।सोमबार प्रहरी प्रधान कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा खनालले पन्तको हत्यारा समाउन समय लाग्नुको कारण यस अघि हत्यारा समाउने नाममा गलत अभ्यास भएको भन्दै त्यो दोहरिन नदिन समय लागेको बताए।

अपराधी समाउन समय लागेकै हो भन्दै उनले चाँडो गर्ने नाममा फेरि गलत अभ्यास नहोस् भनेर समय लागेको बताए ।संचारमाध्यममले निर्मला पन्तका अनुसन्धानलाई लिएर समाचार प्रकाशित गरेको प्रति खनालले दुख प्रकट पारे । उनले कतिपय संचारमाध्यमले शुन्य प्रतिशत उपलब्धी, कतिपयले हात लाग्यो शुन्य समेत भनेर समाचार लेख्ने गरेको बताउँदै अनुसन्धानमा प्रतिशत निर्धारण नहुने उल्लेख गरे ।

त्यस्तै संगठनले आइजिपी चढ्नका लागि सवा २ करोडमा गाडी किनेको विषयलाई लिएर खनालले ब्यक्तिगत कुरा संचारमाध्यममा ल्याएर विवादित बनाउन खोजेको टिप्पणी गरे। त्यस्तै काठमाडौंको महारागंजबाट पनौतीबाट प्रहरीको तालिम केन्द्र सार्ने विषयमा खनालले महाराजगंजमा पनि विदेशी तालिमहरु गर्न सकिने गरी पुर्वाधार बनाइने धारणा राखे । आफूले प्रहरी संगठनभित्र सुधारको पहल गरिरहेको भन्दै उनले सबैबाट सहयोगको अपेक्षा लिएको पनि बताए ।

उनले बिभिन्न सभा सम्मेलनका लागी १६ करोडको भवन निर्माण गरिएको, संगठनको कामको लागि १६ वटा गाडी खरिद गरिएको, विभिन्न सुरक्षाका सामग्री खरिद गरिएको लगायतका जानकारी दिए ।

यस्तै प्रहरीलाई फिल्डमा परिचालन गर्न ३४० वटा मोटरसाइकल खरिदको प्रक्रिया अघि बढाइएको पनि खनालले पत्रकार सम्मेलनमा जानकारी दिए । पत्रकार सम्मेलनमा उनले आफूले आईजीपीमा नियुक्त भएयता गरिएका कामको फेहरिस्त पनि सार्वजनिक गरे ।

प्रतिक्रिया दिनुहोस्