बिरामीको आफैँ चेकजाँच गर्दै गाउँपालिका अध्यक्ष विष्ट

हर्क चन्द/रेडियो युनिटी ।
डडेल्धुरा, पुस १०। डडेल्धुराको नवदुर्गा गाउँपालिकाले संचालन गरिरहेको एकीकृत निःशुल्क स्वा स्थ्य शिविरमा गाउँपालिका अध्यक्ष कविन्द्र विष्ट आफैँ बिरामीको चेकजाँच गरिरहेका छन्।

लामो समय स्वास्थ्य क्षेत्रमा काम गरेका बिष्टले आफ्नो अनुभव निःशुल्क स्वास्थ्य शिविरको माध्यमबाट गाउँपालिकाका स्थानीय नागरिक माझ सेवा बाँडिरहेका हुन्। गाउँपालिकाले ५ वटै वडामा आयोजना गरेको शिविरमा उनी बिरामीहरूको चेकजाँच तथा उपचार सेवामा संलग्न भइरहेका छन्।

२४ वर्षसम्म डडेल्धुराको स्वास्थ्य क्षेत्रमा सिनियर अहेवको रूपमा काम गरेका बिष्ट स्थानीय नागरिकको आफूप्रति विश्वास कायमै रहेको उनले बताए। ‘मैले विगतका २४ वर्ष स्वास्थ्य क्षेत्रमै काम गरेको हुँ’, उनले भने, ‘त्यही अनुभवका आधारमा यहाँका जनतालाई स्वास्थ्य सेवा दिइरहको छु। मप्रति यहाँका नागरिकको विश्वास छ, राम्रो सेवा दिन्छ भनेर।’ उनले ग्रामीण क्षेत्रका नागरिकलाई गाउँस्तरमै सेवा दिने उद्देश्यले निःशुल्क सेवा दिइरहेको उनको भनाइ छ।

शिविरमा साधारण स्वास्थ्य चेकजाँच तथा उपचार, जेष्ठ नागरिक निःशुल्क आँखा जाँच तथा उपचार, पाठेघर खसेका महिलाहरूका लागि जाँच, रिङपेसरी राख्ने तथा प्रेषण, दन्त उपचार, प्रयोगशाला, फार्मेसी, युएसजी (भिडियो एक्सरे)लगायतका सेवा गाउँपालिकाले दिइरहेको छ।

पहाडी जिल्लाका महिलाहरूमा पाठेघर खस्ने समस्या बढी हुने गरेकामा शिविरमा पनि बढी जस्तो पाठेघर खस्ने, सेतो पानी बग्ने समस्या भएका महिलाहरू देखिएको शिविरमा संलग्न उपक्षेत्रीय अस्पताल डडेल्धुराका डा. दिनेश उपाध्यायले बताए। यस्तै, ज्येष्ठ नागरिकहरूमा उच्च रक्तचाप, स्वासप्रश्वास, मधुमेह र आँखाको समस्या भएका बिरामी देखिएको उनको भनाइ छ।

गाउँमै निःशुल्क स्वास्थ्य उपचार पाएपछि स्थानीयबासी ढंग
निःशुल्क स्वास्थ्य शिविर संचालन भएपछि गाउँपालिकाका स्थानीय नागरिक खुसी भएका छन्। नवदुर्गा–१ निन्तोलाका कमलसिंह रैकाल, मंगलबार बिहान कोटेली स्वास्थ्य चौकीमा पुगे। गाउँपालिकाले संचालन गरेको निःशुल्क स्वास्थ्य शिविरमा उनी मात्रै आएनन्, उनका छिमेकीहरु पनि शिविरमा आए। वर्षले ६५ काटेका रैकालका आँखा कम देख्ने भएपछि उनी आँखाको चेकजाँचका लागि स्वास्थ्य शिविरमा आएका हुन्।

आँखाको चेकजाँचपछि उनलाई डाक्टरले चस्मा लगाउन सुझाए र उनलाई शिविरमा निःशुल्क दिइयो। उनी निःशुल्क चस्मा पाएपछि उनी खुशीले दंग छन्। ‘म पत्रपत्रिका पढ्ने मान्छे। मोबाइलमा कसले फोन ग¥यो थाहा नै हुँदैनथ्यो।’ उनले भने,‘अहिले चस्मा लगाएपनि देख्न थालेको छुँ। म खुसी छुँ।’

सानोतिनो बिरामी भएपनि सदरमुकामका अस्पताल धाउनुपर्ने बाध्यता रहने गरेकामा अहिले शिविर संचालन भएपछि आफूहरूले घर नजिकै सेवा पाएको उनको भनाइ छ।

पहिलो दिन मंगलबार नवदुर्गा गाउँपालिका–१ म रहेको कोटेली स्वास्थ्य चौकीमा निःशुल्क शिविर संचालन गरिएको छ। बुधबार पनि कोटेली स्वास्थ्य चौकीमा शिविर संचालन गरिने गाउँपालिकाले जनाएको छ। पहिलो दिन तीन सय जनाले सेवा लिएको बताइएको छ।

गाउँपालिकामा मंगलबारदेखि सुरु भएको निःशुल्क स्वास्थ शिविर प्रत्येक वडामा २ दिन संचालन गरिने जनाइएको छ। पुस १९ गतेसम्म संचालन हुने शिविरमा पाँच हजार बढी सेवाग्राहीले सेवा लिने गाउँपालिकाले जनाएको छ। गत वर्ष पनि गाउँपालिकाले एकीकृत निःशुल्क स्वास्थ्य शिविर संचालन गरेको थियो। उक्त शिविरमा गाउँपालिकाभित्रका तीन हजार बढी नागरिकले सेवा लिएका थिए।

प्रतिक्रिया दिनुहोस्