सुदूरपश्चिममा पनि राष्ट्रिय परिचयपत्र वितरण हुने

बैतडी,पुस १४ । सुदूरपश्चिम प्रदेशका दुई जिल्लामा पनि राष्ट्रिय परिचयपत्र वितरण हुने भएको छ। सुदूरपश्चिमका अछाम र कञ्चनपुरमा यसै आर्थिक वर्षभित्र परिचयपत्र वितरण गरिने राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले जनाएको छ।

वि स २०७५ साल माघ महिनाबाट विवरण संकलन गरिने र असार सम्म परिचयपत्र वितरण गरिसक्ने लक्ष्य रहेको छ। नेपाल सरकारले संवैधानिक रुपमै राष्ट्रिय परिचयपत्र बनाउन खोजेको सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाश शाहले बताए। सरकारले पाँचथर जिल्लाबाट मंसिर ३ गतेदेखि वितरण सुरु गरिएको राष्ट्रिय परिचयपत्र यस आर्थिक वर्षमा सात वटै प्रदेशको १५ वटा जिल्लामा वितरण हुन लागेको हो।

पहिलो चरणमा सुदूरपश्चिम प्रदेशको अछाम र कञ्चनपुर,कर्णाली प्रदेशको सल्यान र जुम्ला, प्रदेश ५ को कपिलवस्तु र गुल्मी, गण्डकी प्रदेशको स्याङजा र तनहुँ, प्रदेश २ को सप्तरी र महोत्तरी तथा प्रदेश १ का झापा र संखुवासभामा परिचय पत्र वितरण गरिने छ। यस्तै दोस्रो चरणमा हरेक प्रदेशका २ र २ र ३ नम्बर प्रदेशका ३ जिल्लामा परिचयपत्र वितरण गरिने भएको छ।

विभागले यसअघि पाँचथरमा एकलाख १० हजार र सिंहदरबारका ७ हजार कर्मचारी गरी एकलाख १७ हजार जनालाई परिचयपत्र वितरण गरिसकेको छ। विभागले यस आर्थिक वर्षभित्र ७ वटै प्रदेशका १५ वटा जिल्लाका १६ वर्षभन्दा माथिका ३५ लाख २३ हजार ६९८ जनालाई परिचयपत्र वितरण गर्ने तयारी गरेको हो।

राष्ट्रिय परिचयपत्रमा जैविक तथा वयक्तिक विवरणसहितको विद्युतीय चिप एवं सुरक्षण हुनेछ। यो सबै प्रकारका बैंकिङ तथा प्रशासनिक कामका लागि प्रयोग गर्न सकिने विभागले जनाएको छ। परिचयपत्रले भ्रष्टाचार र अपराध नियन्त्रणका लागि महत्वपूर्ण भूमिका खेल्ने बताइएको छ। सरकारले नागरिकताको सट्टा राष्ट्रिय परिचयपत्र ल्याउनको लागि वि स २०७४ असार ८ गतेको मन्त्रिपरिषद् बैठकले परिचय पत्रको ढाँचा र २०७४ पुस ८ गते सुरक्षित चिन्ह स्वीकृत गरेको थियो।

प्रतिक्रिया दिनुहोस्