राजनीतिक प्रतिस्पर्धा विकासका लागि हुनुपर्ने नेता बडूको भनाई

 बैतडी,पुस १५ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य दिलेन्द्रप्रसाद बडूले राजनीतिक प्रतिस्पर्धा अब विकासका लागि हुनुपर्ने बताएका छन्। नेपाल विद्यार्थी संघ बैतडीका विद्यार्थी नेतासँगको पाटनमा शनिबार भएको भेटघाटका क्रममा उनले जनताले पाँच वर्षका लागि दिएको म्याण्डेटभित्र कसले के गर्‍यो भन्ने फैसला जनताले गर्ने भन्दै यसका लागि विकासमा प्रतिस्पर्धा गर्न आवश्यक रहेको उद्घोष गरेका हुन्।

प्रतिनिधिसभा सदस्यसमेत रहेका नेता बडूले कांग्रेस बलियो प्रतिपक्षीको भूमिकामा रहेकाले सबै कार्यकर्तालाई एकजुट हुन आग्रह गरे। ुकांगेसको नेतृत्वमा बनेको संविधानलाई कांगेसले रक्षा गर्नुपर्छु उनले भने, कांग्रेसले सत्तामा छँदा होस् वा बाहिर रहँदा होस् विकास निर्माणमा कार्यमा योगदान दिँदै आएको छ।

यसका साथै यही पुस १९ गते हुन गइरहेको नेविसंघ बैतडीको जिल्ला अधिवेशनमा सर्वसम्मत रुपमा नेतृत्व चयन गर्न अनुरोध गरे। नेविसंघ दार्चुलाको आइतबार हुने जिल्ला अधिवेशनलाई उद्घाटन गर्न नेता बडू शनिबार नै गृहजिल्ला दार्चुला प्रस्थान गरेका छन्।

प्रतिक्रिया दिनुहोस्