अमरगढीका ५ स्वास्थ्य चौकीको अनुगमन : भवन अभावदेखि चुहनेसम्मका समस्या 

ललित बोहरा/रेडियो युनिटी, डडेल्धुरा, पौष १५ – अमरगढी नगरपालीकाभित्र रहेका ५ वटा स्वास्थ्य चौकीहरुको अनुगमन गरिएको छ । स्वास्थ्य क्षेत्रलाई थप सेवामुखी तथा जनअपेक्षाकृत बनाउने उदेश्यले आइतबार अनुगमन गरिएको हो ।

नगरपालिकामा रहेका नगर स्वास्थ्य केन्द्र भलिया, उग्रतारा स्वास्थ्य चौकी पोखरा, घटाल स्वास्थ्य चौकी, सहश्रीलीङ स्वास्थ्य चौकी राई, नगर स्वास्थ्य केन्द्र स्याउलेको अनुगमन गरिएको अमरगढी स्वास्थ्य शाखाले जनाएको छ ।

स्वास्थ्य चौकीहरुमा कर्मचारी निमीत आए नआएको, सेवाग्राहीको अवस्था, औषधिको अवस्था, अन्य सरसमाग्रीहरुको अबस्थाको बारेमा अनुगमन गरीएको छ ।

अनुगमनका क्रममा भवन अभाव, भवन चुहिने, खानेपानीको अभाव, गाउँघर किल्नीकहरुको कमी, अति आवश्यक औषधि केही मात्रामा कमि, एउटै भवनमा वडा कार्यालय र स्वास्थ्य चौकी सञ्चालनले समस्या, फोहर व्यवस्थापनमा कठिनाईलगायतका समस्याहरु रहेको पाइएको छ ।

अनुगमनमा सहभागी नगरप्रमुख विशेश्वरप्रसाद ओझाले स्वास्थ्य चौकीहरुका समस्याहरु क्र.मीक रुपमा समाधान गर्दै जाने विश्वास दिलाएका छन् । अमरगढी नगरपालिको बजेटले सकिने काम छिटै गर्ने र नसकिने कामको लागि प्रदेश र संघिय सरकारलाई अनुरोध गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । साथै उनले जनताको सेवामा सधै रातदिन नभनी लाग्न स्वास्थ्यकर्मीहरुलाई निर्देशन पनि दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्