गैंडाको खागसहित धनगढीबाट एक पक्राउ

 धनगढी,पुस १९ । गैंडाको खागसहित धनगढीबाट एकजना पक्राउ परेका छन्।  जिल्ला प्रहरी कार्यालय कैलालीले धनगढी उपमहानगरपालिका ५ का ५१ वर्षीय चक्र भण्डारीलाई गैंडाको खागसहित पक्राउ गरेको हो।

बाजुराको बूढीगंगा नगरपालिका ३ स्थायी घर भएकाका भण्डारीलाई प्रहरीले धनगढी उपमहानगरपालिका ६ जाइबाटबाट पक्राउ गरेको हो। धनगढी उपमहानगरपालिका ६ का ८२ वर्षीय गगन सिंह रैउलेको घरमा लुकाएर राखेको अवस्थामा भण्डारीसँगै १ किलो २९० ग्राम गैंडाको खाग फेला परेको हो। गैंडाको खाग भारतबाट ल्याइएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीले भण्डारी र उनीसँग बरामत गरिएको गैंडाको खागलाई बुधबार सार्वजनिक गरिएको हो। खागको पिँधको गोलाइ ४२.५ सेन्टिमिटर र लाम्चो भाग ३२.४ सेन्टिमिटर रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक हरि वलीले जानकारी दिए।

‘राष्ट्रिय निकुज्ज तथा वन्यजन्तु ऐनअन्तर्गत भण्डारीलाई ५ लाखदेखि १० लाख जरिवाना र ५ वर्षदेखि १५ वर्षसम्म कैद वा दुवै हुनसक्छ’ प्रहरी नायव उपरीक्षक वलीले बताए। यस विषयमा थप अनुसन्धान जारी रहेको उनले भने।

प्रतिक्रिया दिनुहोस्