‘वाइडबडी प्रकरणमा उच्च स्तरीय छानबिन हुन्छ, कोही पनि उम्कन पाउँदैन’:प्रधानमन्त्री

काठमाडौं,पुस १९ । प्रधानमन्त्री केपी शर्मा ओलीले वाइडबडी विमान खरिदमा भएको अनियमितताको सरकारले उच्च स्तरीय छानबिन गर्ने बताएका छन्। बुधबार राति नेपाल टेलिभिजनबाट प्रशारण भएको कार्यक्रम ‘जनतासँग प्रधानमन्त्री’मा प्रधानमन्त्री ओलीले संसदलाई र अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई वाइडबडी विमान खरिदको छानबिन गर्न आग्रह गर्दै सरकारले पनि उक्त प्रकरणमा उच्च स्तरीय छानबिन गर्ने बताएका हुन्।

प्रतिनिधिसभाको लेखा समितिले गठन गरेको उपसमितिले नेपाल वायुसेवा निगमले खरिद गरेको वाइडबडी विमानमा चार अर्ब ३५ करोड ५६ लाख भ्रष्टाचार भएको र त्यसमा वहालवाला पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी, पूर्वमन्त्रीद्वय जीवनबहादुर शाही र जितेन्द्रनारायण देव तथा दुई सचिव र वायुसेवा निगमका महाप्रवन्धक सुगतरत्न कंसाकारलगायतका अधिकारीलाई दोषी देखाएको छ। उनीहरूलाई कारबाहीका लागि सिफारिस गर्न सुझाव पनि समितिलाई दिएको छ।

यहिँ वाइडबडी प्रकरणबारे ‘जनतासँग प्रधानमन्त्री’ कार्यक्रमका संचालकले प्रधानमन्त्रीलाई जिज्ञासा राखेका थिए। जसको जवाफमा प्रधानमन्त्रीले उक्त विषयलाई आफूले नजिकबाट हेरिरहेको र गम्भीर भएको जनाउ दिए। ‘वाइडबडीको सम्बन्धमा गम्भीर छानबिन हुन्छ। दोषीमाथि कारबाही हुन्छ। कोही पनि उम्कन पाउँदैन, कोही पनि’, प्रधानमन्त्रीले थपे, ‘समिति (लेखा समिति)ले छानबिन गरोस्, संसदले छानबिन गरोस्। उच्च स्तरमा संसदले अझ केही गर्नुछ भने गरोस्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई म भन्न चाहान्छ- छानबिन गर्नुस्।’

प्रधानमन्त्रीले वाइडबडी मात्रै होइन अन्य भ्रष्टाचारका मामिलामा पनि छानबिन गर्ने बताए। उनले भने, ‘सरकारको तर्फबाट सरकारले गर्छ। आवश्यक छानबिन उच्च स्तरबाट गर्छ, यसमा सबैलाई ढुक्क रहन आह्वान गर्छु। भ्रष्टाचारबाट कसैलाई उम्कन दिइँदैन। हरेक भ्रष्टाचारको छानबिन हुन्छ। दोषीलाई दण्डित गरिन्छ, जो भएपनि।’

उपसमितिको प्रतिवेदन बाहिरिएकामा प्रधानमन्त्री असन्तुष्ट

वाइडबडी प्रकरणको छानबिनका लागि कांग्रेसका सांसद राजन केसीको नेतृत्वमा गठन गरिएको लेखा समितिको उपसमितिले मंगलबार राति ११ बजेसम्म बैठक बसेर प्रतिवेदन तयार पारेको थियो। उक्त प्रतिवेदनमा रहेका मूख्य विषय त्यतिबेला नै केही अनलाइन संचारमाध्यममा आइसकेका थिए। बुधबार बिहान ११ बजे प्रतिवेदन पूर्ण समितिमा बुझाउने कार्यक्रम रहेको थियो। जबकी बिहानै प्रतिवेदनमा रहेका मूल विषय पत्रपत्रिकामा प्रकाशित भइसकेका थिए।

यसप्रति पनि प्रधानमन्त्रीले असन्तुष्टि जाहेर गरेका छन्। प्रधानमन्त्रीले असन्तुष्टि मात्रै होइन, चेतावनीको भाषा पनि प्रयोग गरेका छन्। प्रधानमन्त्रीले उपसमितिको प्रतिवेदन नै अन्तिम नभएको र त्यसमा लेखा समिति र संसदमा पनि छलफल हुने भन्दै चेतावनीको भाषा बोलेका हुन्। उनले मन्त्रिपरिषद्का निर्णय उल्टाउनुपरेको हवाला दिँदै उपसमितिको निर्णय पनि उल्टिन सक्ने चेतावनी दिए।

उनले वाइडबडीका बारेमा कुरा गर्दा संचारमाध्यमले मन्त्रिपरिषद्का निर्णय परिपक्व भएपछि मात्रै सार्वजनिक गर्ने परम्परालाई फेरि लागु गर्दा आएका आलोचनाप्रति असन्तुष्टि जनाउँदै प्रतिवेदन समितिमा बुझाउनु पहिले नै सार्वजनिक भएकामा असन्तुष्टि जनाए। उनले भने, ‘मन्त्रिपरिषद्का निर्णय परिपक्व भएपछि सार्वजनिक गरिन्छ। विगतमा नेपालमा र दुनियाँमा नै यस्तै हो। बीचमा त्यो बिग्रियो। परिपक्व नभइ सार्वजनिक गर्दा परिवर्तन गर्नुपर्ने अवस्था आए।’

प्रधानमन्त्रीले थपे, ‘यस्तो अवस्थामा परिपक्व भएपछि सार्वजनिक गर्ने भनेको धेरै संचार माध्यमले सूचना लुकाउने प्रयास गर्‍यो भने। सूचना लुकाउने प्रयास गर्दागर्दै सार्वजनिक भए भनेर केहीकेही किलकिलेहीन मान्छेका कुराहरूको वाहीवाही गरे। कोही केही बोकेर पुर्‍याउनुपर्ने ठाउँमा नपुर्‍याइ बीचमै खसाइएका कुरालाई वाहीवाही गरिए।’

.थाहा

प्रतिक्रिया दिनुहोस्