फेरि घट्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं, पुस १९ । पेट्रोलियम पदार्थको मूल्य फेरि घटेको छ । नेपाल आयल निगमले आज राति १२ बजेबाट लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य घटाएको हो । आयल निगमले पेट्रोल , डिजेल तथा मट्टितेलको मूल्यमा प्रतिलिटर दुई दुई रुपैयाँले घटाएको जनाएको छ ।

यसअघि प्रतिलिटर ११० पर्ने पेट्रोलको मूल्य १ सय ८ रुपैया पुगेको छ भने ९७ रुपैयाँ प्रतिलिटर रहेको मट्टीतेल तथा डिजेलको मुल्य समान ९५ रुपैयाँ पुगेको छ ।निगमले खाना पकाउने ग्यास र हवाई इन्धनको मूल्य भने यथावत राखेको छ । निगमले पछिल्लो डेढ महिनाको अबधिमा निरन्तर मुल्य घटाइरहको छ ।

प्रत्येक १५ दिन बिराएर भारतीय आयल कर्पोरेसन (आइओसी) ले पठाउने नयाँ मुल्य अनुसार डेढ महिनामा अहिलेसम्म पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा समान ६ रुपैयाँ प्रतिलिटर घटेको छ । स्वचालित मूल्य प्रणाली अनुसार मूल्य समायोजन भएको निगमले विज्ञप्ति मार्फत् जानकारी गराएको छ ।

प्रतिक्रिया दिनुहोस्