निःशुल्क एकीकृत स्वास्थ्य शिविरमा ३ हजार बढीले लिए सेवा

हर्क चन्द/रेडियो युनिटी।
डडेल्धुरा, पुस १९। डडेल्धुराको नवदुर्गा गाउँपालिकाले संचालन गरेकोे १० दिने एकीकृत निःशुल्क स्वास्थ्य शिविर वडा नं ५ को विजयशैनी मावि चामाचौडमा सम्पन्न भएको छ। गाउँपालिकाले ५ वटै वडामा आयोजना गरेको शिविर अन्र्तगत वडा नं. १ कोटेलीबाट सुरु गरेको शिविर बिहिवार वडा नं ५ चामाचौडमा समापन गरिएको हो।

  

१० दिनसम्म ५ वटै वडामा २ दिन एक वडा गरी सञ्चालन गरिएको शिविरमा जम्मा ३ हजार १ सय ८५ जनाले निःशुल्क स्वास्थ्य सेवा लिएको नवदुर्गा स्वास्थ्य शाखाका उप–संयोजक दीपेन्द्र बिष्टले जानकारी दिए।

वडा नं.१ कोटेलीमा ५ सय ८५, वडा नं. २ मेणिलेकमा ५ सय ५०, ३ मा डाँडावनमा ९ सय, ४ बेलापुरमा ६ सय ५०, ५ को चामाचौडमा ६ सय २० बिरामीहरूले चेकजाँच तथा उपचार सेवा लिएको गाउँपालिका अध्यक्ष किवेन्द्र बिष्टले बताए। ग्रामीण क्षेत्रका नागरिकलाई गाउँस्तरमै सेवा दिने उद्देश्यले निःशुल्क सेवा दिएको उनको भनाइ छ।

शिविरमा साधारण स्वास्थ्य चेकजाँच तथा उपचार, ज्येष्ठ नागरिक निःशुल्क आँखा जाँच तथा उपचार, पाठेघर खसेका महिलाहरूका लागि जाँच, रिङपेसरी राख्ने तथा प्रेषण, दन्त उपचार, प्रयोगशाला, फार्मेसी, युएसजी (भिडियो एक्सरे)लगायतका सेवा गाउँपालिकाले दिइको थियो।

पहाडी जिल्लाका महिलाहरूमा पाठेघर खस्ने समस्या बढी हुने गरेकामा शिविरमा पनि बढी जस्तो पाठेघर खस्ने, सेतो पानी बग्ने समस्या भएका महिलाहरू देखिएको शिविरमा संलग्न उपक्षेत्रीय अस्पताल डडेल्धुराका डा. दिनेश उपाध्यायले बताए। यस्तै, ज्येष्ठ नागरिकहरूमा उच्च रक्तचाप, स्वासप्रश्वास, मधुमेह र आँखाको समस्या भएका बिरामी देखिएको उनको भनाइ छ।

गाउँमै निःशुल्क स्वास्थ्य उपचार पाएपछि स्थानीयबासी ढंग निःशुल्क स्वास्थ्य शिविर संचालन भएपछि गाउँपालिकाका स्थानीय नागरिक खुसी भएका छन्। गत वर्ष पनि गाउँपालिकाले एकीकृत निःशुल्क स्वास्थ्य शिविर संचालन गरेको थियो। उक्त शिविरमा गाउँपालिका भित्रका तीन हजार बढी नागरिकले सेवा लिएका थिए।

प्रतिक्रिया दिनुहोस्