रेशमको शपथः सरकारले होस गुमाएको कांग्रेसको आरोप

काठमाडौं,पुस २० । प्रहरी वरिष्ठ उपरीक्षकसहित ८ जनाको ज्यान जाने गरी २०७२ साल भदो ७ गते कैलालीको टीकापुरमा भएको हिंसात्मक घटनाका मुख्य अभियुक्त रहेको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका रेशम चौधरीलाई सांसद पदको सपथ खुवाएपछि मुलुक तरंगित भएको छ ।

रेशमको सपथका विषयमा व्यक्त गरिएका टिप्पणीहरुले सामाजिक सञ्जाल भरिएका छन् भने सत्तारुढ र प्रतिपक्षि दलहरु, यो घटनाको विरोध र समर्थनमा दोहोरी खेलिरहेका छन् । रेशमलाई सपथ खुवाएर सरकारले मनस्थीति गुमाएको आरोप प्रमुख प्रतिपक्षी कांग्रेसले लगाएको छ । कानुनविदहरुले यो घटनालाई सरकारको गम्भीर त्रुटि भनेका छन् तर सरकारले रेशमको शपथलाई स्वभावीक भनेको छ ।

गतहप्ता संसद बैठकमा राजपाका अध्यक्ष मण्डलका संयोजक राजेन्द्र महतोले प्रधानमन्त्री समेत रहेका नेकपाका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालको नाम लिएर दिएको चेतावनीयुक्त अभिव्यक्ति सामाजिक सञ्जालमा भाइरल बन्यो । महतोले प्रचण्डको नेतृत्वमा हजारौँ मान्छे मारिँदा उनी प्रधानमन्त्री बन्ने तर जनताको अत्याधिक मत पाएर विजयी रेशम चौधरीलाई सपथ समेत नखुवाएर जेलमा कोचेको भन्दै कडा आपत्ति जनाएका थिए ।

रेशमलाई सपथ खुवाउने वातावरण नबनाए सरकारलाई दिएको समर्थन फिर्ता लिने महतोको यस्तो चेतावनीपछि सरकार एकाएक गलेको छ । फलस्वरुव बिहिबार प्रधानमन्त्रीको निर्देशनमा टीकापुरबाट ३१ हजार ३ सय ४१ भन्दा धरै मतले विजयी भएका रेशमलाई सभामुख कृष्णबहादुर महराले सपथ खुवाए ।

सपथ ग्रहण कार्यक्रममा राजपाका नेताहरुका साथै सत्तारुढ नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ समेत उपस्थित थिए । सपथपछि चौधरीले नेपालको कानूनमा कुनै पनि व्यक्तिलाई साढे ३ वर्षसम्म पुर्पक्षका लागि थुनामा राख्न नपाइने भए पनि आफूहरु जेलमा बसिरहेको भन्दै यो मुद्दा छिटो भन्दा छिटो टुंग्याउन आग्रह गरेका थिए । उनले सामाजिक सञ्जालमा आफूलाई हत्यारा भन्ने गरिएकोमा पनि आपत्ति जनाए ।

टीकापुर घटनाको मुख्य अभियुक्तका रुपमा चौधरीविरुद्ध जिल्ला अदालत कैलालीमा मुद्दा विचाराधीन छ । उनी फरार रहेकै अवस्थामा चुनाव लडेर अत्याधिक मतले विजयी भएपनि निर्वाचन आयोगले प्रमाणपत्र दिएको थिएन । संघीय संसदको पहिलो अधिवसन सुरुहुनु एक हप्ताअघि कैलाली जिल्ला अदालतमा आत्मसमपर्ण गरेका चौधरीलाई अदालतले पूर्पक्षकालागि थुनामा राख्न आदेश दिएको थियो ।

तर अदालतमा मुद्दा विचाराधिन अवस्थामा रहेकै बेला उनलाई सपथ खुवाउनु कानुनी राज्यको उपहास भएको कानुनविद दिनेश त्रिपाठीको तर्क छ । उनले सरकारले न्यायपालीमाथि नियन्त्रण गरिरहेको आरोप लगाए ।

यता प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेसले रेशमको शपथप्रति कडा आपत्ति जनाएको छ । प्रवक्ता विश्वप्रकाश शर्माले ट्वीटमार्फत अदालतमा विचाराधीन मुद्दाका मुख्य आरोपीतलाई शपथ खुवाएर कानुनी राज्यको खिल्ली उडाएको आरोप लगाएका छन् । विचाराधिन मुद्दा हुँदाहुँदै रेशमलाई शपथ खुवाउने वातावरण तयार पार्नु भनेको सरकारले आफ्नो मनस्थिती गुमाएको प्रष्ट हुने कांग्रेस नेता वीरबहादुर बलायरले बताए ।

टीकापुर हत्याकाण्डका मुख्य अभियुक्तलाई कारबाहीको साटो उल्टै सम्मान स्वरुप शपथ गराउने कार्यले शान्ति सुरक्षा, दण्डहीनता र कानुनी राज्यको उपहास गरेको भन्दै सामाजिक सञ्जालमा पनि अनेकन टिप्पणीहरु भइरहेका छन् । तर सरकारले भने रेशमको सपथलाई स्वभावीक भनको छ । रेशमको सपथबारे पत्रकारले सोधेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री केपी शर्मा ओलीले चुनाव जितेकाले रेशम चौधरीलाई शपथ खुवाएको बताए ।

यस्तै सरकारका प्रवक्ता गोकुल बास्कोटाले पनि रेशमको सपथ स्वभावीक भएको प्रतिक्रिया दिएका छन् । सरकारका निर्णय सार्वजनिक गर्न आयोजित कार्यक्रममा उनले जनताबाट निर्वाचित व्यक्तिलाई सांसदको सपथ खुवाउनु स्वभावीक भनेका हुन् । रेशमको सपथलाई एक पक्षले जनमतको सम्मान भनिरहेको छ भने कानुनका जानकारहरुसहित अर्काे पक्षले कानुनी शाशनको खिल्ली उडाएको रुपमा अर्थाएको छ ।

प्रतिक्रिया दिनुहोस्