ओझेलमा परे बझाङका फलाम खानी

बझाङ,पुस २० । जिल्लामा रहेका अधिकांश फलाम खानीहरू संरक्षण र सम्बर्द्धनको अभावमा यतिखेर ओझेलमा पर्दै गएका छन्। तल्कोट गाउँपालिकाको भोपुर रुवातोला सडकको बयालधार खण्डमा फलाम खानी फेला परेको छ। सडक निर्माणको क्रममा डोजरले खन्दा ठूलो परिमाणमा फलामका टुक्राहरू यत्रतत्र छरिएका छन्।

सडक खन्ने क्रममा निस्किएका फलामे ढुंगा ठूलो मात्रामा सेती नदीसमेत खसेको स्थानीयले बताएका छन्। चैनपुर ताक्लाकोट सडकमा पर्ने तेलकोट गाउँपालिका १ सेरागाउँदेखि धमेना कुवँरगाउँ सम्मको करिब ३ किलोमिटर क्षेत्रमा ठाउँ ठाउँमा फलाम जस्तै ढुंगा भेटिएका हुन्। जताततै फलामै फलाम भेटिए पनि यसको बारेमा कसैले बास्ता नगरेका कारण सडक निमार्णको क्रममा ठूलो मात्रामा सेती नदीमा खसेको स्थानीय धनबहादुर कठायतले बताए।

साविकको धमेना गाविसमा पर्ने बयालधार डाँडामा रहेको फलाम खानी बिहीबारभन्दा करिब ६५ वर्ष पहिला प्रयोगमा थियो। खानीबाट कच्चा फलाम निकालेर यहाँका स्थानीय लुहार समुदायले प्रशाेधन गर्ने गर्दथे। त्यसबेला फलाम प्रशोधन गरेर निर्माण गरेका कृषि औजार, विभिन्न खाले हतियार र घरायसी प्रयोगका लागि बनाइएका भाँडाकुँडा हालसम्म पनि स्थानीयले प्रयोग गर्ने गरेको पाइएको छ। खानीबाट फलाम झिकेर आफै प्रशाेधन गरेका तल्कोट गाउँपालिका १ भाटगाउँका थोल्या कामीका अनुसार खानी प्रयोग गरे बाफत लुहार मुखियाले तत्कालिन बझाङ राज्यलाई तिर्नू पर्ने कर तिर्न नसके पछि खानी प्रयोगमा बन्देज लगाइएको थियो।

खप्तड छान्ना गाउँपालिका ३ घाटखोलामा रहेको फलाम खानीबाट पनि विगत ४० वर्ष पहिले फलाम निकालिएको स्थानीय अग्रजहरू बताउँछन्। मेरै हातलले फलाम झिकेर ल्याएर पगाल्ने र भाँडा कुडा बनाउने काम गरेको छु ८० वर्षीय उनले त्यो वेलाको फलाम प्रशोधन गर्ने प्रविधिको चर्चा गर्दै भने एउटा भट्टी हुन्थ्यो। त्यसमा फलाम ढुङगालाई फुटाएर साह्रो गोल (बाँझको रुख बालेर बनाइएको कोइला) मा राख्नुपर्थ्याे। चारै तिरबाट छालाको खलाती (आरनमा आगो फुक्ने चिज) ले चार जनाले धुनु (फुक्नु) पर्थ्याे।

एक जनाले लामो सनासोले फलाम चलाइराख्नु पर्थ्याे। फलाम तातिए पछि पग्लेर भट्टीको तल राखिएको भाँडोमा चुहिन्थ्यो। त्यसैलाई आरनमा पिटेर चाहेको सामान बनाउने गरिन्थ्यो’ यहाँको फलाम एकदमै गुणस्तरीय भएको र आयातित फलाम भन्दा सजिलैसँग चाहिएको कृषि औजार, हतियार वा भाँडाकुँडा बनाउने सकिने खालको रहेको उनलको भनाई छ।

त्यस ठाउँमा फलाम खानी छ भन्ने कुरा यहाँका सबैलाई थाहा भए पनि त्यसको संरक्षण र उत्खननमा कसैले वास्ता नगर्ने गरेको स्थानीयहरू बताउँछन्। ‘फलाम खानी छ भन्ने कुरा त सबैलाई थाहै थियो’ सुनिकोटका कृण्णबहादुर थापाले भने यसको संरक्षण र उत्खनन्को लागी कसैले चासो दिएनन्। हामीले पनि के काम लाग्ला र ? भनेर वास्ता गरेनौं।

सडक खन्नेहरूले पनि मतलव गरेनन्’ यता खानी तथा भूगर्भ विभागका उपमहानिर्देशक तथा खनिज सम्पदा महाशाखाका प्रमुख रामप्रशाद घिमिरेले बझाङ जिल्लामा फलाम खानीको सम्भावना रहेको कुरा यस अघिका अध्ययन प्रतिवेदनले देखाएको भए पनि कुन ठाउँमा कति मात्रामा फलाम छ भन्ने कुराको विस्तृत अध्ययन भई नसकेको बताए।

प्रतिक्रिया दिनुहोस्