सुदूरपश्चिममा १७१ नयाँ स्वास्थ्यचौकी बन्दै

बैतडी,पुस २२ । सुदूरपश्चिम प्रदेशमा चालु आर्थिक वर्षमा १७१ स्वास्थ्यचौकीका भवन बन्ने भएका छन्। देश संघीय संरचना गईसकेपछि साविकको एउटै गाविसलाई दुई वडामा विभाजन गरी स्वास्थ्यचौकी भवनविहीन रहेका वडाहरूलाई नयाँ स्वास्थ्यचौकी भवन बन्न लागेका हुन्।

सरकारले देशभरिमा एक हजार २०० नयाँ स्वास्थ्यचौकी बनाउने घोषणासँगै सुदूरपश्चिम प्रदेशमा १७१ स्वास्थ्यचौकी भवन बन्न लागेका सामाजिक विकास मन्त्रालय, स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर गुणराज अवस्थीले जानकारी दिए। सुदूरपश्चिमका कुन जिल्लामा कति स्वास्थ्यचौकी बन्ने भनेर अलग्गै लिस्ट नआएको उनले बताए। स्वास्थ्यचौकी भवन निर्माणको लागी तराईमा ८ कठ्ठा, पहाडमा ५ रोपनी र हिमाली जिल्लामा ४ रोपनी जमिन स्थानीयले स्वास्थ्यचौकीको नाममा निशुल्क दान गरेको हुनु पर्नेछ।

संघीय सरकार अन्तर्गतको स्वास्थ्य मन्त्रालयले लामो समयदेखि अन्योलमा रहेको एकहजार २०० स्वास्थ्य संस्थाको निर्माण प्रक्रिया अगाडि बढाएको छ। मुलुक संघीय संरचनामा गएसँगै ‘एक वडा, एक स्वास्थ्यसंस्था’को अवधारणाअनुसार दुई वर्षभित्र सबै वडामा स्वास्थ्य संस्था बनाइ सक्ने गरी यसवर्ष एकहजार २०० वडामा नयाँ स्वास्थ्य केन्द्र निर्माण गर्न लागिएको हो।

मन्त्रालयको नीति, योजना महाशाखाले स्वास्थ्य संस्था नभएका दुई हजार ५०० वडामध्ये, स्थानीय अग्रसरता, जनसंख्या, जग्गाको उपलब्धता र मानव विकास सूचकांकलाई आधार बनाएर यस वर्ष आधारभूत स्वास्थ्य केन्द्र बन्ने वडाहरूको छनोट गरेको छ। निर्माण कार्यका लागि आवश्यक जग्गाको उपलब्धताका आधारमा सम्बन्धित स्थानीय तहसँगको समन्वयमा प्रदेश सरकारहरूले भवन बनाउनेछन्। आधारभूत स्वास्थ्यकेन्द्र निर्माण गर्न यसवर्ष चार अर्ब बजेट विनियोजन गरिएको छ।

नयाँ बन्ने संस्थाका लागि दुईप्रकारका डिजाइन सहरी विकास तथा भवन निर्माण विभागको प्राविधिक सहयोगमा यसअघि नै तयार भइसकेका छन्। जग्गा र जनसंख्याका आधारमा कुनप्रकारको भवन र सेवा निर्धारण हुने भन्नेसमेत तय भइसकेको छ। भवन निर्माणका लागि आवश्यक टेन्डर प्रक्रिया, अनुगमन विधि, समन्वयको तरिकादेखि आइपर्ने विवादको निकास विधिसमेत तय भइसकेका छन्।

सरकारले नीति तथा कार्यक्रममै स्थानीय तहबाट आधारभूत स्वास्थ्यसेवा निःशुल्क उपलब्ध गराउन २ वर्षभित्र सबै वडामा न्यूनतम एक स्वास्थ्य संस्था स्थापना गर्ने घोषणा गरेको थियो। सोहीअनुसार पहिलो चरणमा मुलुकभरका एकहजार २०० वडामा यस्ता संस्था निर्माण गर्न लागिएको हो। भवन निर्माण गर्दा वडाको जनसंख्या ७ हजार वा बढी भएको र १६ आनासम्म जमिन उपलब्ध भएमा प्रसूति सेवासहितको भवन र जनसंख्या सात हजारभन्दा कम र जमिन ९ आनासम्म भए प्रसूति सेवाबाहेकका आधारभूत स्वास्थ्य केन्द्र निर्माण गरिने छन्।

प्रसूति सेवासहितको स्वास्थ्यकेन्द्र टाइप १ र ७ हजारभन्दा कम जनसंख्या भएका ठाउँमा टाइप २ भवन संरचना निर्माण गरिने छन्। जसअनुसार पहिलो चरणमा बन्नेमध्ये १३७ वटा टाइप १ र एकहजार ६३ वटा टाइप २ स्वास्थ्य केन्द्र बन्नेछन्। मन्त्रालयका अनुसार भवन निर्माण गर्दा केन्द्रको ८० प्रतिशत र २० प्रतिशत स्थानीय तहको लागत सहभागिता हुनेछ।

संघीय संरचनाअनुसारको सबैभन्दा सानो एकाइ वडा तहमा कुल छ हजार मध्ये दुईहजार ५०० स्थानमा स्वास्थ्य संस्थामा छैनन्। जसमध्ये सुदूर पश्चिम प्रदेशमा ३१९ वडामा कुनै प्रकारका स्वास्थ्य संस्था छैनन्।

प्रतिक्रिया दिनुहोस्