गाउँमा यातायात पुग्दा बझाङका स्थानीय हर्षित

बझाङ,पुस २२। सडक निर्माण भई गाउँमा पहिलो पटक यातायात सेवा संचालनमा आएपछि यतिखेर बझाङको खप्तडछान्ना गाउँपालिका ७ गोर्खाली गाउँका स्थानीयबासी निकै हर्षित भएका छन्। विगतमा ३ घण्टा पैदल यात्रा गर्दै सेती लोक मार्गसम्म पुगेर यातायात सेवा लिन बाध्य गोर्खालीबासीको घरदैलोमा सवारी साधन पुग्दा उनीहरूमा खुसीयाली छाएको हो।

खप्तडछान्ना गाउँपालिकाको ३० लाख र स्थानीयबासीको १५ गरी कुला ४५ लाखको लगानीमा सेती लोकमार्गको गडरायदेखि गोर्खालीसम्म ८ किलोमिटर कच्ची सडक निर्माण गरिएको स्थानीय रामबहादुर सिंहले बताए। गाउँमा सडक निर्माण भई यातायात सुचारु हुन थालेपछि यतिखेर गोर्खाली, धर्तिवाडा र तिखाढुंगा गाउँका बासिन्दालाई सेती लोकमार्गसम्म आवागमनमा सहज भएको छ। सडक संजाल जोडिँदा आजकाल सेती लोकमार्गबाट खाद्यान्न लगायतका मालसामान ढुवानी गर्न सहज भएको छ।

सडक निर्माण भएपछि यतिखेर गडराय गोर्खाली सडक खण्डमा दैनिक जिव, मिनिट्रक, मोटरसाइकल, लगायतका सवारी साधनहरू चल्ने गर्दछन्। यातायात सेवा संचालनमा आउदा गोर्खाली गाउँबाट आलु, जौ र मकै लगायतका खाद्यन्न र तरकारीहरू स्थानीय बजारसम्म पुर्‍याउन सहज भएको छ। सडक विस्तार भएसँगै सो क्षेत्रमा अहिले बजार पनि विस्तार भएको छ।

नियमित रुपमा सवारी साधन संचालन हुन थालेपछि यतिखेर गोर्खाली गाउँबाट गम्भीर बिरामीलाई अन्यत्र लैजान तथा विद्यार्थीलाई समेत आवत जावत गर्न सहज स्थानीय चन्द्रबहादुर सिंहले बताए। उनले भने सडक नहुँदा ५ घण्टा भारी बोक्नुपर्ने पथ्र्यो तर आजकाल मालसामान ढुवानी गर्न निकै सहज भएको छ। गाउँमा सडक निर्माण भई यातायात सेवा संचानलनमा आउँदा गोर्खाली गाउँबाट जयपृथ्वी राजमार्ग हुदै धनगढी महेन्द्र नगरसम्म आवतजावत गर्न समेत स्थानीयलाई सहज भएको छ।

प्रतिक्रिया दिनुहोस्