डडेल्धुरामा जातीय विभेदका घटना बढ्दै

डडेल्धुरा,पौष २२ । डडेल्धुरामा जातीय विभेदका घटना दिन प्रतिदिन बढ्दै गएका छन् । प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा ग्रामीण क्षेत्रका दलित समुदायमा दैनिकजसो विभेदको घटना भए पनि खुलेरै सम्बन्धित निकायमा उजुरी गर्ने आँट गर्न नसक्दा यस्ता घटनाले प्रश्रय पाइरहेको छ ।

वर्षौदेखि कथित ठूलो जातका अधिनमा बसेका दलित समुदाय छुवाछुतविरुद्धका कुरा उठाए गाउँ नै छोडेर जानुपर्ने समस्याले पनि जिल्लामा विभेदका घट्ना बाहिर आउन नसकेको दलित अगुवाहरुले बताएका छन् । पिउने पानी तथा मसानघाट र ग्रामीणस्तरका होटलमासमेत अहिलेसम्म सँगै बस्न, खान र काम गर्नसमेत आफूहरू वञ्चित हुँदै आएको उनीहरूको गुनासो छ ।

विभेद अन्त्य गर्न समुदायमा सचेतना बढाउनाका साथै दलितको क्षमता विकासमा समेत ध्यान दिनु जरुरी रहेको दलित अगुवा लक्ष्मी कामीकोे भनाइ छ । नेपाल जातीय छुवाछुमुक्त राष्ट्र घोषण भएको १२ वर्ष पूरा भइसकेको छ । साथै जातीय भेदभाव कसूर ऐन २०६८ परित भई कार्यान्वयनमा आइसकेको छ, तर पनि यस्ता घटनामा केही कमी आए पनि निराकरण भने हुन नसकेको जिल्ला प्रहरी कार्यालयका प्रमुख डम्बरबहादुर केसीले बताउनुभयो ।

उहाँका अनुसार जिल्लामा २०६४ साल यता जातीय भेदभावसम्बन्धी केही उजुरी दर्ता भए पनि एउटै मात्र मुद्दा अदालतसम्म पुगेर फैसला भएको छ । तीन वर्षयता जातीय छुवाछुतको उजुरी उक्त कार्यालयमा परेको छैन । सदरमुकाममा केही परिर्वतन भए पनि ग्रामीण क्षेत्रमा भने छुवाछुत यथावत रहेको र यस्ता विवाद ग्रामीण क्षेत्रमै मिलाइने तथा लुकाएर राखिने गरेको नेकपाका दलित नेता सोनलाल दमाइँ सुन्दरले बताउनुभयो ।

यसैगरी नेपाली कांग्रेसको भातृ सङ्गठन नेपाल दलित सङ्घ डडेल्धुराका जिल्ला अध्यक्ष सन्तोष जैरुले छुवाछुतमुक्त राष्ट्र घोषणा भए पनि जहिलेसम्म दलित समुदाय आर्थिक अवस्थाबाट माथि उठ्न सक्दैनन् तबसम्म विभेद कायमै हुने उल्लेख गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्