अपडेट : आगलागीबाट ६५ लाखको क्षति

डडेल्धुरा, पुस २३ । डडेल्धुरा सदरमुकाममा आइतबार राति भीषण आगलागी हुँदा ६५ लाखको क्षति भएको छ।

अमरगढी नगरपालिका–५ बागबजारको बगरकोट रोडमा राति साढे १२ बजे आगलागी हुँदा ११ वटा खोकाछाप्राहरु जल्दा ६५ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।

आगलागीबाट बसपार्क नजिकैको पिपलचौतारीका तरकारी पसल, नास्ता पसल तथा माछा मासु पसल र एक गोदाम जलेका हुन्। करिब दुई घण्टापछि अमरगढी नगरपालिकको दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयको सहयोगमा आगो नियन्त्रमा लिइएको थियो।

आइतबार रातिसहित डडेल्धुरामा लगतार चार पटक आगलागी भएको हो। आगो लगाएको आशंकामा एक जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक डम्बरबहादुर केसीले जानकारी दिए।

पक्राउ परेका व्यक्तिको नाम ठेगाना नखुलाइए पनि आगलागी पीडितका आफन्त रहेको बताइएको छ। उनले आगो लगाएको प्रहरीसँग स्वीकार गरेको प्रहरी नायब उपरीक्षक केसीले बताए। गत साता मात्र डडेल्धुरामा लगातार तीन पटक आगलागी हुँदा करिब ८७ लाख बराबरको क्षतिको भएको थियो।

डडेलधुरामा फेरि भीषण आगलागी: ९ पसल जले, आगो लगाउने एक पक्राउ

प्रतिक्रिया दिनुहोस्