नवदुर्गाका सबै विद्यालय नमुना बनाउँछु : अध्यक्ष बिष्ट

हिक्मत सिंह/रेडियो युनिटी।
डडेल्धुरा, पुस २३ । नवदुर्गा गाँउपालिकाले दश ओटा विद्यालयलाई नमुना विद्यालयको रुपमा छनौट गरि शैक्षिक सुधारका कार्यक्रमहरु संचालन गरेको छ । गाँउपालिकाले प्रविधी मैत्री र गुणस्तरीय शिक्षालाई आत्मसाथ गर्दै सबै बिद्यालयहरुमा ल्यापटप, ई–हाजिरी, प्रोजेक्टरका माध्यमबाट पठनपाठन गराइने निती अवलम्बन गरि कार्यक्रम अगाडी बढाएको छ ।

  

सामुदायिक विद्यालयको स्तरोन्नति र विद्यालय शिक्षाको गुणस्तरमा बृद्धि हुने गरी प्रविधि र सुबिधायुक्त बनाउन प्रत्येक वार्डमा १÷१ वटा माध्यमिक बिद्यालय र अन्य गरि हाल दश ओटा विद्यालय नमुना छनौट गरिएको नवदुर्गा गाँउपालिकाका अध्यक्ष कबिन्द्र बिष्टले बताएका छन् । आफ्नो कार्यकाल सम्ममा पालिकाका सबै विद्यालयलाई नमुना विद्यालय बनाएर छोड्ने समेत उनले बताएका छन् ।

नमुना छनौट भएका स्कुलहरुमा अग्रेजी भाषामा अक्षर शिक्षा लागु गरि समग्र गुणस्तर अभिबृद्धिका उचित आर्थिक सहायता प्रदान गर्ने नीति अनुसार पालिकाले विभिन्न विद्यालयहरुमा प्रविधि हस्तान्तरण गरेको अध्यक्ष बिष्टले जानकारी दिएका छन् ।

सोमबार नवदुर्गा गाउपालिकाको वडा नं २ स्थित भुवनेश्वरी माध्यमिक विद्यालय वड बसन्तपुर पुगेका गाउपालिका अध्यक्ष बिष्टले नमुना विद्यालयको शैक्षिक गुणस्तुमा वृद्धि गर्नुपर्ने बताउदै शिक्षकहरुलाई शैक्षिक सुधारका लागी आवश्यक कार्यक्रम संचालन गर्न सुझाव दिएका छन् । उनले विद्यार्थीहरुको शैक्षिक अवस्थाका बारेमा जानकारी लिनका लागि विषयगत शिक्षकलाई राखेर विद्यार्थीहरुको कक्षा जाँच समेत गरेका थिए ।

विद्यालयमा पुगेर शिक्षकहरुका समस्यासंगै विद्यार्थीहरुको शैक्षिक अवस्थाबारे स्थलगत निरिक्षण गर्नाले आफूलाई कामगर्ने जागरमा थप बल पुगेको भुवनेश्वरी माध्यमिक विद्यालयका प्रधानाध्यापक यज्ञराज उप्रेतीले बताएका छन् ।

साना कक्षाहरुमा बालवालिकाहरुलाई पठनपाठनमा चासो बढाउने उद्धेश्यले प्रोजेक्टर र एलईडि मोनिटरका माध्यमबाट समेत शिक्षण सिकाई क्रियाकलाप संचालनका लागी उपकरणहरु प्रदान गरेको छ । गाउँपालिकाले नमुना विद्यालयहरुमा ई–हाजिरीको समेत व्यवस्था गरेको छ ।

प्रतिक्रिया दिनुहोस्