पुनर्निर्माण भएन वर्षाले ६ महिनाअघि भत्काएको कबर्डहल

डडेल्धुरा,पुष २४। जीर्ण अवस्थामा रहेको डडेल्धुराको कबर्डहल भत्किएको ६ महिनासम्म पुनर्निमार्ण भएको छैन। जिल्लाको एक मात्र कबर्ड हल गत असारमा भत्किएको थियो।

अमरगढी नगरपालिका–४ खलंगामा ३२ वर्ष पहिले निमार्ण भएको उक्त कबर्डहल जीर्ण अवस्थामा रहेको थियो। र, गत ३० असारमा वर्षाका कारण भत्कियो। जिल्लाको महत्वपूर्ण र एकमात्र कभर्डहल भत्किँदा जिल्लाका इनडोर खेलकुदका कार्यक्रमसमेत प्रभावित बनेका छन्।

इनडोर खेल हलभित्र सञ्चालन हुने भएकाले अहिलेसम्म पुनर्निमार्ण हनु नसक्दा खेडालीहरूको विचल्ली परेको भन्दै चिन्ता व्यक्त गरेका छन्। कबर्ड हल पुनर्निमार्ण हनु नसक्दा खेडालीको विचल्ली परेको र कबर्ड हललाई छिटो पुनर्निमार्ण गरिनु पर्ने खेलाडी सुजन थापा मगर बताउँछन्।

‘असारदेखि कबर्डहल भत्किएको छ। कबर्डहल निर्माणका लागि कतैबाट समेत पहल भएको छैन’ उनले भने, ‘हामी खेलाडी भनेको यो जिल्ला गहना हो। कतै गएर राम्रो खेल प्रर्दशन गरेँ। यहीँ जिल्लाको नाम रहने हो।’ उनले अघि थपे,‘कबर्ड हल नहुँदा मेरा कति साथीहरूको विचल्ली नै परिसकेको छ। खेल्न नपाएर। ब्याडमिन्टन, टेबलटेनिस, कराते, बक्सीङ, चेस खेल्ने साथीहरुको विचल्ली नै भइसकेको छ।

त्यसैले सम्बन्धित निकायले छिटोभन्दा छिटो निर्माण गरिनुपर्छ।’ कबर्ड हल पुनर्निमार्ण लागि के हुँदैछ पहलरु भत्किएकै अवस्थामा रहेको कबर्डहललाई भत्काउन अमरगढी नगरपालिकाले वडा नम्बर ४ मार्फत् ३ लाखको बजेट विनियोजन गरेको छ। उता जिल्ला खेलकुद विकास समितिले स्रोतको अभावका कारण पुननिमार्ण हुन नसकेको जानकारी दिएको छ। युवा खेलकुद विकास मन्त्रालयले जिल्लामा सेमिकबर्ड हल निमार्णका लागि २५ लाखको योजना छुट्टयाएको खेलकुल विकास समितिका अध्यक्ष राजेन्द्रबहादुर मगरले जानकारी दिए।

‘३२ वर्ष पुरानो कबर्ड हल भत्किएको करिब छ महिना भइसकेको छ। यसबीचमा त्यसको पुनर्निर्माण प्रक्रिया अगाडि बढिसक्नुपर्ने हो। तर, हामीसँग स्रोतको अभावका कारणले गर्दा त्यसलाई अगाडि बढाउन सकेका छैनौँ’ अध्यक्ष मगरले भने, ‘अहिले अमरगढी नगरपालिकाले तीन लाख रुपैयाँमा त्यसलाई भत्काउने कुराका लागि अनपा ४ लाई जिम्मा दिएको छ र युवा तथा खेलकुल मन्त्रालयले सेमी कबर्ड हल बनाउने भनेर २५ लाख छुट्याएको भन्ने हामीलाई जानकारी आएको छ।’

त्यसको अख्तियारी जिल्ला खेलकुद विकास समितिलाई प्राप्त हुने बित्तिकै सेमी कबर्ड हल निर्माण प्रक्रियालाई अगाडि बढाउने उनको भनाइ छ। पुरानो संरचना भएको र मर्मतसम्भार नभएकोले अविरल वर्षाका कारण भत्किएको कबर्ड हलको पुनर्निमार्णको प्रक्रिया अगाडि बढिसकेको अमरगढी नगरपालिकाले जानकारी दिएको छ।

युवा तथा खेलकुद मन्त्रालयले यस वर्ष बजेट विनियोजन गर्ने भएकाले यसै वर्ष कबर्ड हलको निमार्ण हुने समेत अमरगढी नगरपालिकाका नगरप्रमुख विशेश्वरप्रसाद ओझाले बताए। ‘जिल्ला खेलकुद विकास समितिको परिसरभित्र रहेको कबर्ड हल वर्षातका कारण भत्कियो। भत्किसकेपछि त्यसको निर्माणका लागि हाम्रा पनि आफ्नै खालका परिधि हुन्छन्।

सभाबाट निश्चित शीर्षकमा बजेट विनियोजन गरिएको हुन्छ तर पनि नगरकार्यपालिकाबाट निर्णय गरी त्यो भत्काउनका लागि बजेट विनियोजन गरिसकेको छौँ’ नगर प्रमुख ओझाले भने, ‘यसको पुनर्निर्माण गर्ने सवालमा केही महिनाअघि नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्मा ज्यूलाई त्यो क्षेत्रमा निरिक्षण गर्न लगाइसकेपछि २५ लाख बजेट विनियोजन गर्ने आश्वासन दिनुभएको छ।’

यस वर्षमा त्यसको निर्माण कार्य अगाडि बढ्ने उनको भनाइ छ। जिल्लाको महत्वपूर्ण र एकमात्र कबर्डहल भत्किँदा जिल्लाका इनडोर खेलकुदका कार्यक्रमसमेत प्रभावित भएका छन्। इनडोर खेलहरू खेल्नका लागि हलको प्रयोग हुने हुँदा आजभोलि जिल्लामा खेलकुद गतिविधि शून्य बनेको छ।

ब्याडमिन्टन, टेबलटेनिस, कराते, बक्सिङ, चेस जस्ताभित्र खेलिने खेलहरू बाहिर मैदानमा खेल्दा हावाले प्रभावित हुनेहुदा कबर्डहलको आवश्यकता पर्ने गर्दछ।

प्रतिक्रिया दिनुहोस्