महाकाली नदीमा ‘र्‍याफ्टिङ्ग’ शुरु (फोटो फिचर)

  • आशिष मल्ल

जोगबुडा, पुस ३० । महाकाली नदीमा साहसिक जलयात्रा (र्‍याफ्टिङ्ग) शुरु गरिएको छ। नदीमा आइतबार पहिलो पटक र्‍याफ्टिङ्ग सम्भावना परिक्षण गरि याफ्टिङ्ग शुरु गरिएको हो।

परशुराम नगरपालिकाले सम्भावना परिक्षण गरी धार्मिक महामहोत्सव अवधि भर र्‍याफ्टिङ्ग सञ्चालनमा ल्याएको नगरपालिकाले जनाएको छ।

महाकाली नदी किनारमा रहेको चार धाम मध्यको एक धाम परशुराम धाम लाई धार्मिक सर्किट संग जोड्न पहिलो पटक आयोजना गरेको धार्मिक महामहोत्सवमा तथा अन्य समयमा पनि यस क्षेत्रमा पर्यटक भित्र्याउन र्‍याफ्टिङ्ग शुरु गरेको नगर प्रमुख भीमबहादुर साउँदले जानकारी दिए।

     

आइतबार नगर प्रमुख साउँदले र्‍याफ्टिङ्गगर्दै महामहोत्सव अवधि भर जलयात्रा र्‍याफ्टिङ्ग सञ्चालन गरिने बताए। परशुराम नगरपालिका ५ को कल्पट्टेबाट र्‍याफ्टिङ्ग शुरु गरिएको थियो। कलपट्टेबाट परशुराम धाम रहेको स्थान बाङघाट सम्म ४.५किलो मिटरको जलयात्रा शुरु गरिएको नगप्रमुख साउँदले बताए। धार्मिक पर्यटकलाई जलयात्राको भरपुर मनोरञ्जन दिन र्‍याफ्टिङ्ग शुरु गरिएको हो।

‘आगामी दिनमा आन्तरिक, छिमेकी भारत तथा अन्य बाह्य पर्यटक धार्मिक क्षेत्र परशुराम धाममा भित्र्याउन र्‍याफ्टिङ्ग सञ्चालन गरेका हौँ। यसले भारत नेपालका स्थानीयबीच आपसी सम्बन्ध पनि विस्तार हुने छ। नगरप्रमुख साउदले भने, ‘पूर्णगीरीमा आउने भक्तजनहरुलाई जलयात्रा मार्फत परशुराममा ल्याइ कचनपुरको महेन्द्रगरमा रहेको सिद्धनाथमा लगिने छ। हाम्रो ध्यय भनेको धार्मिक सर्किट बनाउने हो।’

नदीमा कर्णाली टुर एण्ड ट्राभल्सले र्‍याफ्टिङ्ग परिक्षण गरी दुई वटा वोट सञ्चालनमा ल्याएको छ। ‘हामीले सम्भावना अध्ययन गर्न वोट परिक्षण ग¥यौ।’ कर्णाली टुर एण्ड ट्राभल्सका सञ्चालक देवराज जैशीले भने ‘एकदमै सुरक्षीत रुट भएकाले परिक्षण सफल भएको छ ।’ नगरपालिकासंगको सम्झौताअनुसार महामहोत्सव अवधि माघ ८ सम्म बोट सञ्चालन गरिने छ ।

परशुराम नगरपालिकाका नगर प्रमुख भीमबहादुर साउँद, राष्ट्रियसभा सदस्य चक्रप्रसाद स्नेही, ईलाका प्रहरी कार्यालय जोगबुडाका प्रहरी निरिक्षक ईश्वरीदत्त पाण्डेयलगायतको सहभागितामा उक्त जलयात्रा उद्घाटन गरिएको थियो।

सोमबार दिउँसो धार्मिक महोत्सवको औपचारिक रुपमा पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले उद्घाटन गर्ने कार्यक्रम रहेको नगरपालिकाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्