डडेल्धुरामा म्याद नाघेका खाद्य पदार्थहरु नष्ट

  • शेर भण्डारी

डडेल्धुरा, माघ ३ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय डडेल्धुराले बजार अनुगमन गरी म्याद नाघेका खाद्य बस्तु नष्ट गरेको छ ।

बिहीबार खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय अमरगढीका खाद्य अनुसन्धान अधिकृतको संयोजकत्वमा प्रहरी सहायक निरिक्षक गोपालदत्त भट्टसहितको प्रहरी टोलीले अनुगमन निरीक्षणको क्रममा फेला परेका म्याद नाघेका खाद्य पदार्थहरु सहायक प्रमुख जिल्ला अधिकारी, प्रहरी र पत्रकारको रहोवरमा जिल्ला प्रशासन कार्यालय डडेल्धुराको परिसरमा नष्ट गरिएको हो ।

अनुगमन टोलीले अनुगमनका क्रममा अमरगढी नगरपालिका–५ बगरकोट रोडस्थित किराना पसलहरुबाट तेल, बिस्कुट, नुन, चाउचाउका ५ थान नमुना संकलन गरेको हो । अनुगमनकै क्रममा उत्पादन मिति सकेका विष्कुट र पेय पदार्थ ठूलो मात्रामा जफत गरी नष्ट गरेको बताइएको छ ।

उपभोग्य मिति समाप्त भएका ६७० पाकेट बिस्कुट र १९ बोतल पेय पदार्थ रहेका थिए । सबै भन्दा बढी म्याद नाघेका खाद्य पदार्थ न्यु निलपाल किराना पसलबाट जफत गरिएको कार्यालय प्रमुख गणेशदत्त जोशीले जानकारी दिए ।

चाडपर्वका बेला मात्र बजार अनुगमन हुन्छ भनेर आलोचना भइरहने खाद्य प्रबिधि तथा गुण नियन्त्रण कार्यालय डडेल्धुराको चर्को आलोचना भइरहने हुँदा अब समय समयमा अनुगमन भइरहने उनको भनाइ थियो ।

डिभिजन खाद्य प्रविधिको कार्यालय डडेल्धुरामा स्थापना भइसकेकाले वर्ष भरिनै अनुगमन भइरहने हुँदा खाद्य पदार्थको लेबल बिवरण र विग्रीएको अवस्थाका खाद्य पदार्थ बिक्रि वितरणको लागि पसलमा नराख्न र नबेच्न उनले आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्