विद्युत सव स्टेशनको उद्घाटन गर्न प्रधानमन्त्री ओली डडेल्धुरा आउँदै

डडेल्धुरा, फागुन ६ । प्रधानमन्त्री एंव नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओली मंगलबार डडेल्धुरा आउने भएका छन्।

चमेलिया जलविद्युत आयोजनाअन्र्तगत डडेल्धुराको स्याउलेमा निर्माण गरिएको १३२÷३३ केभी सव स्टेशनको उद्घाटन गर्नको लागि मंगलबार दिउँसो १ बजे प्रधानमन्त्री ओली डडेल्धुरा आउन लागेका हुन्। सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा विद्युत् आपूर्तिलाई नियमित र भरपर्दो बनाउन डडेल्धुराको स्याउलेमा उक्त सव स्टेशन निर्माण गरिएको हो।

प्रधामन्त्री ओलीसँगै उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुन, भौतिक योजना तथा निर्माण मन्त्री रघुवीर महासेठ, सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट, नेपाल विद्युत् प्राधिकारणका कार्यकारी प्रमुख कुलमान घिसीङलगायत आउने कार्यक्रम रहेको प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले जानकारी दिए। प्रधानमन्त्री ओलीसहितको टोली धनगढी विमानस्थलबाट हेलिकप्टरमा डडेल्धुराको स्याउले आउनेछ।

यहाँ उनले विद्युत् सव स्टेशनको उद्घाटन गरेपछि डोटीको बीपीनगरमा सहजपुर–बोगटान सडकको कालोपत्रे शिलन्यास सकेर धनगढी फर्किने कार्यक्रम रहेको छ। प्रधानमन्त्री आउने भएपछि यहाँको सुरक्षा व्यवस्था कडा पारिएको छ।

प्रतिक्रिया दिनुहोस्