डडेल्धुराका शिवालयमा भक्तजनको भीड

डडेल्धुरा,फाल्गुन २०। महाशिवरात्रिको अवसरमा डडेल्धुराका शिवमन्दिर तथा शिवालयमा भव्य मेला लागेको छ। जिल्ला सदरमुकाम खलंगामा रहेको शिव मन्दिरमा बिहानैदेखि भक्तजनहरुको भीड लागेको छ।  यस्तै जिल्लाको भित्री मधेशमा पर्ने आलिताल गाउँपालिकामा रहेको ज्यालचौंडी मन्दीर र परशुराम धाममा पनि भक्तजनहरुको भीड लागेको छ।

अमरगढी नगरपालिका–७ पोखरामा रहेको रावलतोली गुफा शिवकुटीमा पनि महाशिवरात्रीको अवसरमा भेला लागेको छ। यसैगरी अमरगढी नगरपालिका–१ स्याउलेमा रहेको सहश्रलिङ शिव मन्दिरमा पनि भव्य मेला लागेको छ।  अमरगढी–३ मा रहेको घटालस्थान नजिकै रहेको असिग्राम मन्दिरमा पनि मेला लागेको छ।

महाशिवरात्री मेलामा बिहानैदेखि दर्शनार्थीको घुँइचो लागेको मेला व्यवस्थापन समितिले जनाएका छन्। यस्तै मेलालाई मध्यनजर गरी मेला अवधीभर शिवालय क्षेत्रमा मदिरा बेचबिखन तथा सेवनमा रोक लगाइएको छ। यसैबीच मेलामा हुनसक्ने अपराधिक क्रियाकलाप हुन नदिन सुरक्षा व्यवस्था कडा पारिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायव उपरिक्षक डम्बरबहादुर केसीले जानकारी दिए।

हिन्दु धर्मावलम्वीले शिव उत्पत्ति भएको रातका नामबाट नामकरण भएको महाशिवरात्री प्रत्येक वर्षको फागुन कृष्ण चतुर्दशीका दिन मनाइने प्रचलन छ। कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा यसलाई पुराणमा वर्णन गरिएको छ।

प्रतिक्रिया दिनुहोस्