बैतडी र दार्चुलामा टेलिकमको मोबाइल सेवा अवरुद्ध

 बैतडी,पुस ४। बैतडी र दार्चुलामा नेपाल टेलिकमले प्रदान गर्ने जीएसएम मोबाइल फोन सेवा अवरुद्ध भएको छ। टेलिकमले प्रदान गर्दै आएको मोबाइल पोस्टपेड र प्रिपेड सेवा सोमबार रातिदेखि अवरुद्ध भएको हो।

कञ्चनपुरस्थित देखतभुतीमा रहेको टेलिकम टावरको बिटिएस डाउन भएकाले सेवा अवरुद्ध भएको नेपाल टेलिकम बैतडीका प्रमुख सुरत खड्काले जानकारी दिए।

कञ्चनपुरको लालपुरस्थित नेपाल विद्युत् प्राधिकरणको सब–स्टेशनका सुरक्षागार्ड भीमदत्त नगरपालिका–१९ बागफाँटाका चन्द्रदेव भट्टको स्टेशनमै करेन्ट लागेर मृत्युको विषयमा विवाद हुँदा आइतबार बिहानदेखि विद्युत् सेवा अवरुद्ध भएकाले टावरको बिटिएस चार्ज हुन नसकेको खड्काको भनाइ छ।

चार्जका लाग बैकल्पिक उपाय खोजी भइरहेकाले समस्या केही समयपछि समाधान हुने कार्यालयले बताएको छ। मोबाइल सेवा अवरुद्ध हुँदा बैतडी र दार्चुलाका नागरिक टेलिकमका मोबाइल सेवाग्राही मर्कामा परेका छन्।

प्रतिक्रिया दिनुहोस्